बुधबार, कार्तिक ५, २०७७ | Wednesday 21st October 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • बिश्वो
  • कोरोना भाइरस: मृत्यु भएको एक महिनापछि जीवित !
बिश्वो

कोरोना भाइरस: मृत्यु भएको एक महिनापछि जीवित !

  • स्याङ्जा सेरोफेरो मङ्लबार, बैशाख १६, २०७७ | April 28, 2020

काठमाडौँ : दक्षिण अमेरिकी देश इक्वेडरमा कोरोना भाइरसका कारण मृत्यु भएको भनिएकी जीवितै रहेको खबर बाहिरिएको छ । ती महिलाको पहिचानमा भएको गल्तीका कारण यस्तो भएको बीबीसीको समाचारमा उल्लेख छ ।

इक्वेडरकी ७४ वर्षकी महिला अल्बा मारुरीको परिवारलाई गत महिना अस्पतालले अल्बाको मृत्यु भएको जानकारी दिएको थियो । संक्रमणको जोखिमका कारण शवको अन्तिम संस्कार अस्पतालले नै गरेर परिवारलाई उनको भनिएको अस्तु पठाएको थियो । तर, वास्तवमा अल्बाको मृत्यु भने भएको थिएन बरु मृत्यु भएकी अर्कै महिलालाई अस्पतालले अल्बा ठानेको थियो ।

परिवारले अल्बाको मृत्युको शोक मनाइरहँदा अल्बा भने अस्पतालमा कोमाको अवस्थामा थिइन् । तीन हप्तासम्म कोमामा रहेपछि अल्बा गत बिहीबार ब्युँझिइन् र अस्पतालका कर्मचारीलाई आफ्नी बहिनीलाई बोलाइदिन भनिन् । अल्बाले आफ्नो परिचय दिएपछि अस्पतालले उनका परिवारलाई उनी जीवितै रहेको सूचना दियो ।अस्पतालले पहिचानमा भएको गल्तीका लागि माफी मागेको छ ।

स्थानीय अखबार एल कोमेर्सियोका अनुसार अल्बालाई गत महिना उच्च ज्वरो र सास फेर्न समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । उनका परिवारलाई २७ मार्चमा अल्बाको कोरोनाभाइरसका कारण मृत्यु भएको सूचना दिइएको थियो ।

अल्बा गुआयाकिलमा बस्छिन् जुन शहर देशमा कोभिड १९ को इपिसेन्टर हो । इक्वेडर यो महामारीबाट नराम्रोसँग प्रभावित भएको छ । यहाँ २२ हजार भन्दा धेरै संक्रमित भइसकेका छन् र ६ सय भन्दा धेरैको ज्यान गइसकेको छ ।

परिवारलाई अस्पतालको मुर्दाघरमा एउटा शव देखाइएको थियो तर संक्रमण फैलिने आशंकाका कारण शवको नजिक जान दिइएको थिएन । तर, बिहीबार अल्बा होसमा आइन् र डाक्टरलाई आफ्नो परिचय दिइन् । उनले अस्पतालका कर्मचारीलाई आफ्नो घरको फोन नम्बर दिइन् र आफूलाई लिनको लागि बहिनी आउरालाई बोलाइदिन भनिन् ।

एल कोमेर्सियोको समाचार अनुसार अस्पतालको एक टिम माफी माग्नको लागि उनको घर गएको थियो । माफी माग्दै उनीहरुले परिवारलाई त्यो समय संक्रमित बिरामीको संख्या र लगातार मृत्युका कारण अस्पताल अस्तव्यस्त रहेको बताएका थिए ।

परिवारले यो घटनाको लागि अस्पताल प्रशासनले क्षतिपूर्ति दिनुपर्ने र अन्तिम संस्कारमा भएको खर्च परिपूर्ति गर्नुपर्ने बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु