No menu items!

माछा बिक्री नहुँदा स्याङ्जाका व्यवसायी चिन्तित

गल्याङ : स्याङ्जाका मत्स्यपालन व्यवसायी लकडाउन लम्बिएपछि मर्कामा परेका छन् । लकडाउनका कारण माछा बिक्री हुने होटेल र रेष्टुरेन्ट बन्द रहेपछि माछा पोखरीमै छन् । किसानले माछापालनका लागि बनाइएका पोखरी सफाइ र मर्मत गरी नयाँ भुरा राख्नसमेत पाएका छैनन् ।

चैत र वैशाख पोखरी सफाइ र मर्मत गरी नयाँ भुरा राख्ने समय हो । सरकारले कोभिड– १९ संक्रमण नियन्त्रणका लागि गरेको लकडाउनका कारण माछापालक किसान समस्यामा परेका हुन् ।

बिक्री गरिसक्नुपर्ने माछालाई दाना खुवाइरहनुपर्दा खर्च बढेको र गोदाममा भएको दाना सकिन थालेको गाल्याङ नगरपालिका–७ तारुखोला मत्स्य तथा कृषि फार्म सञ्चालक धनबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “अरुबेला दैनिक एक क्विन्टलसम्म स्थानीय बजारमा माछा बिक्री गर्ने गरे पनि अहिले बजार अभावमा बेच्न नपाउँदा लामो समयसम्म पोखरीमै पाल्नुपर्ने भएकाले खर्च बढ्नुका साथै दाना खुवाउनसमेत समस्या छ ।”

Advertisements

बाउन्न रोपनी जग्गामा सञ्चालन गरिएको उक्त फार्ममा रहु, ग्राँस कार्ब, सिल्भर कार्ब र नैनी जातका माछा पालिएका छन् ।

माछापालन व्यवसायमा राम्रै आम्दानी गर्दै आएको भए पनि लकडाउनका कारण हुर्किसकेको माछा बजारमा बिक्री नपाउँदा माछापालन किसानलाई बैँकबाट लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ ।

Latest News