मङ्लबार, साउन २७, २०७७ | Tuesday 11th August 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • ग्रामीण भीरकोट : सडकको बिजोग, गन्तव्यमा पुग्नै कठिन
स्याङ्जा सेरोफेरो

ग्रामीण भीरकोट : सडकको बिजोग, गन्तव्यमा पुग्नै कठिन

  • स्याङ्जा सेरोफेरो बिहिबार, असार ११, २०७७ | June 25, 2020
स्याङ्जा भीरकोटको कालोपत्रे हुदै गर्दा र भएको पछिको सडक । फोटो: स्याङ्जा सेरोफेरी

स्याङ्जा : आज भन्दा करिब २५ सालअगाडि निर्माण सुरु गरिएका स्याङ्जा भीरकोटका सडकहरु सामान्य मर्मतसम्भार गरेर सञ्चालनमा ल्याइदै आइएको छ । भीरकोटका ग्रामीण सडकमा सर्वसाधरणले सास्ती भोग्नु परेको छ । वर्षा सुरु भएदेखि ग्रामीण क्षेत्रमा जाने सडक हिलाम्मे बनेपछि सर्वसाधरणले सास्ती भोग्नु परेको हो ।

भीरकोटको सदरमुकाम बयरघारी बजार देखि बानेथोक देउराली र ढापुक सिमल भञ्ज्याङ जाने सडकखण्डको बाटो अहिले बिजोग बनेको छ । ग्रामीण क्षेत्रका कच्ची सडक, त्यहि माथि पानीले हिल्लामे बाटोको यात्रा जोखिमपूर्ण छ ।

वर्षातका कारण कच्ची सडकहरु ठाउँ–ठाउँमा भत्किनुका साथै हिलाम्य भएपछि यात्रुहरुले गाडी धकल्दै लैजानु पर्ने बाध्यता छ । सडकको अवस्था हेर्दा खेतमा रोपाई गर्न गएको जस्तो देखिन्छ ।

यात्राको करीब आधा समय गाडी धकल्दैमा बिताउँछन् यात्रुहरु । अर्थात् यात्रुलाई गाडीले होइन की यात्रुले गाडीलाई धकेलेरै भए पनि गन्तव्यसम्म पुर्‍याउँछन् ।

ठाउँ–ठाउँमा पहिरो गएका हिलाम्य सडकहरु दुर्घटना पर्खिरहेका भएपनि ति सडकहरुमा न यातायातका साधनहरु चल्न छाडेका छन् न सडक मर्मततर्फ कुनै पक्षको ध्यान गएको छ । बढी मोड, ठाडो, उकालो र ओरालो हुने भएकाले ग्रामीण सडकमा दुर्घटना हुने गरेको छ ।

भीरकोटको बयरघारी बजार क्षेत्रका केहि सडकहरुमा कालो पत्रे गरिए पनि ग्रामीण भेकका सडक भने अझै पनि बर्खामा हिलाम्य नै देखिने गरेका छन् । सवारी साधनहरुले यात्रु मात्र होइन साथमा कोदालो, साबेल लगायतका बाटो खन्ने सामग्री समेत बोकेर हिड्नुपर्ने बाध्यता छ ।

बर्खायाम सुरु हुने वित्तिकै प्रायजसो ग्रामीण सडकका भाडादर पनि बढ्ने गरेको छ । सडकको अवस्था विग्रिएको कारण सवारी साधनमा बढी क्षति पुग्ने भएकाले यात्रुहरुबाट धेरै भाडा लिनुपरेको सवारीधनीहरु बताउँछन् ।

वर्षेनी मर्मतमा खर्च हुने गर्छ तर सडकको अवस्था विजोग हुने गरेको छ । ठेकेदारको लापरबाही र राज्यको अनुगमन निकाय फितलो हुँदा भीरकोटका ग्रामीण सडकहरुको अवस्था निकै कमजोर देखिएको छ । सडक मर्मतमा स्यानीयबासीको सक्रियता देखिएपनि अनुगमन निकायले ध्यान नपुर्‍याउँदा सडकको अवस्था विजोग बनेको हो ।

फेसबुक प्रतिक्रियाहरु