• गृहपृष्‍ठ
  • प्रदेश
  • बागलुङमा ‘जुलोजिकल पार्क’ बन्ने
प्रदेश

बागलुङमा ‘जुलोजिकल पार्क’ बन्ने

  • स्याङ्जा सेरोफेरो बुधबार, असार २४, २०७७ | July 8, 2020

गलकोट : बागलुङ नगरपालिकामा नेपालकै नमूना प्राणी उद्यान (जुलोजिकल पार्क) बन्ने भएको छ । सामुदायिक वनमा भएका जीवजन्तुको संरक्षणसँगै पर्यटनको विकासका लागि चिडियाखाना निर्माण गरिने भएको हो ।

आर्थिक वर्ष २०७६/७७ मा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरी आव २०७७/७८ मा निर्माणकार्य थाल्न बजेटसमेत विनियोजन भएको छ ।

जुलोजिकल पार्क निर्माण गर्नका लागि आर्किटेक्ट डिजाइन एण्ड सिभिल कन्ट्रक्शनले रु आठ लाखको लागतमा सम्भाव्यता अध्ययनसहित डिपिआर तयार गरेको थियो । रु २४ करोडभन्दा बढी लागतमा निर्माण गर्न लागिएको जुलोजिकल पार्कलाई गण्डकी प्रदेश सरकारद्वारा विशेष अनुदानमार्फत बागलुङ नगरपालिकालाई आगामी आव २०७७/७८ मा रु ५० लाख बजेट विनियोजन भएको गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले जानकारी दिनुभयो ।

जुलोजिकल पार्क हालसम्म प्रक्रियामा भए पनि आव २०७७/७८ मा निर्माण आरम्भ गर्नका लागि बजेटसमेत विनियोजन भएर आएको र थप बजेटका लागि केन्द्र सरकारसँग माग गरिएको नगरपालिका प्रमुख जनकराज पौडेलले बताउनुभयो ।

“यो पार्क ठूलो परियोजना हो, विस्तारै निर्माण हुँदै जान्छ, बजेट आउँदै जान्छ”, पौडेलले भन्नुभयो, “शुरुमा पूर्वाधार निर्माणमा जोड दिन्छौँ, विस्तारै पार्क बन्दै जान्छ, पर्यटकहरु आउँदै जानेछन् ।”

नगरप्रमुख पौडेलका अनुसार धेरै बजेट लाग्ने परियोजना भएकाले निर्माण सम्पन्न हुनका लागि लामो समय लाग्ने भए पनि यही साउनबाटै निर्माणकार्य आरम्भ गरिनेछ । पशुपक्षी, जडीबुटीको संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले जुलोजिकल पार्कको अवधारणा ल्याइएको नगरप्रमुख पौडेलको भनाइ छ । हालसम्म कानूनी प्रक्रिया सबै पूरा भइसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु