स्याङ्जा : अबिरल वर्षा सँगैको आएको पहिरोमा पुरीएर कालिगण्डकी गाउँपालिका ४ खहरेमा एक जनाको निधन भएको छ । तिन जना अझै बेपत्ता भएका छन् भने एक वडा सदस्य सहित दुई जना घाइते भएका छन् ।
पहिरो हेर्ने क्रममा अर्को साइडबाट आएको पहिरोले छ जना पुरिएकोमा एक जनाको शव फेला पार्नुका साथै दुई जनाको उद्धार गरीएको हो । पहिरोबाट ७० बर्षिय इमान सिहँ थापाको निधन भएको हो भने अन्य तिन जना प्रेम चन्द्र पाण्डे, टिका थापा र गिमान सिहँ थापा बेपत्ता भएका छन् ।
पहिरोले वडा सदस्य होमनाथ पाण्डे र बिर बहादुर राना घाइते भएको वडा अध्यक्ष चक्रपाणी पाण्डेले जानकारी दिनुभयो । उहाँले बेपत्ताको खोजी तथा उद्धार जारी राखेको बताउदै अन्य भने नहराएको बताउनुभयो ।
त्यस्तै पहिरोका कारण पुतलीबजार नगरपालिका १ मा एक जना गम्भिर घाइते भएका छन् । पहिरो खसेको सडकको छेउमा रहेका घरका बुद्धिराम नेपाली घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ ।
घाईते नेपालीको जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी भीरकोट ८, खोरबारमा पहिरोको कारण गाउँमा जाने सडक अबरुद्ध भएको छ भने स्थानियको बालीनालीमा क्षति पुगेको छ । गाउँका करिब ५०० सुन्तला र कागतीको बगान पुरिएको छ भने खाने पानीको पाइप बगाएर लैजाँदा स्थानियलाई खाने पानीको अभाब भएको छ ।
मुस्वार टोलका करिब ५-८ घर पहिरोको जोखिममा रहेको स्थानियको भनाइ छ ।