आइतवार, मंसिर २१, २०७७ | Sunday 6th December 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • युवाहरुको सहयोगमा विपन्नको घर बनाउँदै गल्याङ नगरपालिका
स्याङ्जा सेरोफेरो

युवाहरुको सहयोगमा विपन्नको घर बनाउँदै गल्याङ नगरपालिका

  • स्याङ्जा सेरोफेरो बिहिबार, कार्तिक ६, २०७७ | October 22, 2020

केपी खनाल, गल्याङ :

ढलान गरिएको बाटो सँगै बनिरहेको घरसँगै मुस्कुराइरहेकी महिलाको नाम हो लालिमाया मश्राङ्गी । भएको एउटा झुप्रो त्यो पनि बर्षात्को पानीमा कुनै ओत नभएको । परिरहेको पानी खरको छाना छिचोलेर बाहिर नजाने । नयाँ बनाउँ भने पैसा छैन, यसरी नै धेरै बर्खा विते उनको । तर अहिले भने त्यो झुप्रो भएको ठाउँमा स्थानीय युवा क्लबका सक्रीय युवाहरु धमाधम इट्टा थपिरहेका छन् । यहाँ काम गरे वापत लालिमायाले यी युवाहरुलाई पारिश्रमिक दिनुपर्दैन । युवाहरुले कुनै पारिश्रमिक पाउँदैनन् तर पनि काममा भने कुनै कमी छैन । घर निर्माणका सम्पूर्ण सामान भने गल्याङ नगरपालिकाले उपलब्ध गराएको छ ।

युवाहरुको साथमा र सहयोगमा अति विपन्न परिवारको घर बनाउने कामलाई स्याङ्जाको गल्याङ नगरपालिकाले तिब्रता दिएको हो ।

गल्याङ नगरपालिका दशबाट सुरु गरिएको विपन्नको घर बनाउने अभियान नगरपालिकाका अन्य वडाहरुमा पनि विस्तार गर्ने क्रममा गल्याङ नगरपालिका ५ रुपाखानी, गल्याङ नगरपालिका वडा नम्बर २ र ९ का विभिन्न स्थानमा विस्तार गरिएको छ । हालसम्म वडा नम्बर २ का १६ घर एउटा विद्यालय भवन, वडा नम्बर पाँच मा दुई वटा घर, वडा नम्बर ९ मा १० वटा घर र वडा नम्बर १० मा पाँच वटा घर गरी ३४ वटा घरको नगर प्रमुख भुपराज अधिकारीले सिलान्यास गरिसक्नुभएको छ । यी सबै घरहरु दुई महिना भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

विपन्न परिवारका लागि आवास निर्माण शुभारम्भ गरिएपछि विपन्न परिवारको अनुहारमा मुस्कान छाएको छ । शिलान्यास कार्यक्रमका गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले नगरपालिकामा रहेका सबै विपन्न परिवारको घर बनाउने र हाललाई ७५ भन्दा बढि घरको काम सुरु भइरहेको बताउनुभयो ।

नगरप्रमुख अधिकारीले एक वर्ष भित्रमा सबै विपन्नको घर बनाएर छाड्ने र दश वर्ष भित्र नगरपालिकामा कोही पनि गरिब नरहने बताउनुभयो ।

उहाँले नगरपालिकाले जस्तापाता दिएर पनि घर बनाउन नसक्ने परिवारका लागि नगरपालिकाले आफै घर बनाइदिन लागेको बताउनुभयो ।

एउटालाई दुःख पर्दा अर्कोले सहयोग गर्ने संस्कृति लोप हुँदै गएको भन्दै नगरप्रमुख अधिकारीले संस्कृति र विकासलाई सँगसँगै जोड्नका लागि यो अभियान थालिएको बताउनुभयो ।

सकारात्मक सोचका साथ सहयोगको भावनाको विकास गर्नुपर्ने भन्दै उहाँले सबैभन्दा बढि विपन्न परिवारको सहयोग गर्ने सोच बनाउनुपर्नेमा जोड दिनुभयो ।

गास बास र कपासको ग्यारेण्टी अब नगरपालिकाले लिने भन्दै नगरप्रमुख अधिकारीले अबको दश वर्षसम्ममा नगरपालिकामा कोही गरिब नरहने बताउनुभयो ।

युवा संघ र तरुण दल जस्ता राजनीतिक पार्टीका भातृ संगठनले पनि अब विपन्न परिवारका घर बनाउने कामका लागि प्रतिस्पर्धा गर्न उहाँले सुझाब दिनुभयो ।

नगरपालिकाका विभिन्न स्थानमा भएका विपन्नलाई घर बनाउने शिलान्यास कार्यक्रममा नगरप्रमुख आफै सहभागी भएपछि विपन्न परिवारमा खुशी छाएको छ । उनीहरुले नगरप्रमुखले गरिरहेको कामको प्रशंसा गरिरहेका छन् ।

प्रति परिवार दुई लाख रुपैयाँ बराबरको निर्माण सामाग्री नगरपालिकाले दिने र बाँकी स्थानीय जनश्रमदानबाट घर निर्माणको काम भैरहेको प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रियाहरु