• गृहपृष्‍ठ
  • वालिङ नगरपालिका
  • स्याङ्जाको वालिङ नगरपालिका सर्वोत्कृष्ट नगरको रुपमा घोषित
वालिङ नगरपालिका

स्याङ्जाको वालिङ नगरपालिका सर्वोत्कृष्ट नगरको रुपमा घोषित

  • चन्दन केसी बुधबार, चैत्र ११, २०७७ | March 24, 2021

स्याङ्जा:स्याङ्जाको वालिङ नगरपालिका सर्वोत्कृष्ट नगरको रुपमा घोषित भएको छ ।

नेपाल नगरपालिका संघको २८ औं वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले वालिङ नगरपालिका नगर प्रमुख दिलीपप्रताप खाँणलाई पुरस्कार प्रदान गर्नुभएको हो ।

वालिङ नगरपालिका शहरी योजना, वातावरण, विपद जोखिम ब्यवस्थापन र उत्थानशिलतामा देशकै सर्वोत्कृष्ट नगर घोषित भएको हो ।

 

नगरपालिका सर्वोत्कृष्ट घोषित भएसँगै नगर प्रमुख खाँणले आगामी दिनमा काम गर्नका लागि थप उर्जा तथा प्रेरणा मिलेको प्रतिक्रिया दिनुभएको छ । “वालिङ नगरपालिका नेपाल नगरपालिका संघ, विभिन्न दातृ निकायहरुसँग हातेमालो गर्दै विकासको गतिमा अगाडि बढिरहेको छ” नगर प्रमुख खाँणले भन्नुभयो, “हामीले गरेको कार्य देशभरकै सर्वोत्कृष्ट रहेको भनी मूल्याङ्कन गर्नुहुने मूल्याङ्कनकर्ताहरुप्रति नगरपालिकाकोतर्फबाट आभार ब्यक्त गर्दछु ।

नगरपालिका सर्वोत्कृष्ट घोषित भएसँगै आगामी वर्षहरुमा थप बजेट विनियोजन भएर आउने नगर प्रमुख खाँणले बताउनुभयो ।

स्याङ्जाको वालिङ नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र झापाको कन्काई नगरपालिका सर्वोत्कृष्ट बनेका हुन् । वालिङ नगरपालिका शहरी योजना, वातावरण, विपद जोखिम ब्यवस्थापन र उत्थानशिलतामा देशकै सर्वोत्कृष्ट नगर घोषित भएको हो भने रुपन्देहीको तिलोत्तमा नगरपालिका शहरी सुशासन सेवा प्रवाहमा र झापाको कन्काई नगरपालिका आर्थिक प्रशासन तथा राजश्व शीर्षकमा सर्वोत्कृष्ट भई पुरस्कृत भएको हो ।

फेसबुक प्रतिक्रियाहरु