No menu items!

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको संक्रमणप्रति सचेत रहन आग्रह

काठमाडौं :स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसको संक्रमणप्रति सचेत रहन आग्रह गरेको छ।

मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको संक्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो। भारतसँग खुला सीमा भएकाले  नेपालमा पनि यो रोग  फैलिनसक्ने भएकाले सचेत रहन आग्रह गरेको छ ।

भारतको केरला राज्यमा केही दिनदेखि निपाह भाइरसको संक्रमण देखिएको छ।  नेपालमा भने अहिलेसम्म उक्त भाइरसका संक्रमित फेला परेका छैनन्।

निपाह भाइरस एक प्रकारको पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको रोग लाग्ने भाइरस हो। यस भाइरस प्राकृतिकरूपमा ‘फूट ब्याट’ भन्ने प्रजातिको चमेरामा पाइन्छ।

निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्ने गर्दछ।संक्रमित चमेराबाट सुँगुर, गाई, गोरुजस्ता जनावर हुँदै मानिसमा सर्ने गर्दछ।

Advertisements

उक्त भाइरसका लक्षण ज्वरो आउने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने र टन्सिलाइटिस देखिने गर्दछ।

निपाह भाइरसबाट बच्नका लागि फलफूल राम्रोसँग पखालेर मात्र खाने, तरकारी सकेसम्म पकाएर खाने, गाईवबस्तुको गोठ र फार्म सफा राख्ने, मासु काट्दा र पकाउँदा पञ्जा र मास्कको प्रयोग गर्ने, सकेसम्म पानी उमालेर मात्र पिउने, बेलाबेलामा साबुनपानीले हात धुने, भीडभाडमा जाँदा मास्क लगाउने गर्नुपर्दछ।

मन्त्रालयका प्रवक्ता डा पौडेलका अनुसार उक्त भाइरसबाट ४५ देखि ७५ प्रतिशत मानिसमा मृत्यु हुने जोखिम रहेको छ। विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले निपाह भाइरसबाट सर्ने रोगलाई विश्वको १० प्राणघातक रोगमध्ये एक मानेको छ।

उनले रोगको लक्षण देखिएमा उपचार गरिने बताए। संक्रमणको लक्षण देखिनासाथ नजिकै स्वास्थ्य संस्थामा उपचार गराउन मन्त्रालयले आग्रह गरेको छ।

Latest News